भोजपुर । अरुण गाउँपालिकामा महिलाहरुको महान् पर्व तीजलाई लक्षित गरी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ७ वटै वडाबाट हरेक वर्ष विभिन्न कार्यक्रम हुँदै आएकोमा यस वर्ष पनि तीजलाई भव्य र सभ्य बनाउन योजना सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जितमान जिमीले तीज केवल नाच–गान मात्र नभई मौलिक संस्कृति झल्काउने बौद्धिक कार्यक्रमका रुपमा मनाउनुपर्ने बताएका छन् । उनले भड्किलो, अश्लील र समाजलाई नकारात्मक असर पर्ने खालका गतिविधि नगरी मौलिक संस्कृतिलाई जोगाउँदै उत्सव मनाउन आग्रह गरे ।

भेलामा विभिन्न प्रस्ताव तथा निर्णयसमेत पारित भएका छन् । प्रस्ताव अनुसार २०८२ साल भाद्र ६ गते प्याउलीस्थित श्री शारदा माध्यमिक विद्यालयको सभाहलमा तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष बिनीता ढकाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतियोगितात्मक गतिविधि पनि रहनेछन् । नृत्यतर्फ सहभागीले राष्ट्रिय पोशाक (साडी–चोलो) मा प्रस्तुत गर्नुपर्ने, गीत छनोट गर्दा मौलिक संस्कृति झल्कने किसिमको हुनुपर्ने र विवाहित महिलाहरु मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रत्येक वडाबाट कम्तीमा एक समूह अनिवार्य सहभागिता हुनेछन् ।

त्यस्तै, “तातो आलु (पोको पास)” प्रतियोगिता खुला रहनेछ, जसमा सम्पूर्ण इच्छुक सहभागी वडावासीले भाग लिन पाउनेछन् ।

भेलाले तीज विशेष कार्यक्रमको जानकारी विभिन्न संघ–संस्था, समूह र सम्पूर्ण वडा वासीमा सक्रियतापूर्वक सम्प्रेषण गर्ने निर्णयसमेत गरेको छ ।