इटहरी । पूर्वराष्ट्रपति तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाली जनताको सामाजिक न्याय, वर्गीय हितका लागि काम गर्न राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । १० वर्षपछि नेकपा (एमाले) मोरङको जिल्ला पार्टी कार्यालयमा पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टी कार्यालयमा भेला भएका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । नेकपा (एमाले) को मार्गदर्शन सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादले पनि आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रकै नीति लिएको प्रस्ट पार्दै अहिले पार्टीले पनि सोही अनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले ४५ वर्षअघि आफूले लिएको एमालेको पार्टी सदस्यता कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै आफू पुनः एमलेमं सक्रिय भएको बताउनुभयो । उहाँलाई पार्टी कार्यालयमा एमाले केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राईसहितका नेता तथा कार्यकर्ताले स्वागत गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टी कार्यालयपरिसरमा रहेको मदन–आश्रितको सालिकमा माल्यार्पण गर्नुभएको थियो । सोमबार विराटनगर आउनुभएकी भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित एमालेका मन्त्री तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । पूर्वराष्ट्रपति भण्डारी मङ्गलबार काठमाडौँ फर्किनुभएको छ ।


