उदयपुर । बेलका नगरपालिकाको आयोजना तथा सक्रिय सहभागितामा तिज विशेष शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी भएका आमादिदीबहिनी, महिला समूह, समुदायका प्रतिनिधि तथा नगरवासीहरूको उपस्थिति उल्लेखनीय थियो।

1755717393574

कार्यक्रमलाई सम्बोधन गर्दै बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले तिज पर्व केवल रमाइलोका लागि नाचगानमा मात्र सीमित नराखी यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई त्रिकोणात्मक दृष्टिकोणबाट लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार वर्षभरि घरेलु तथा सामाजिक जिम्मेवारीले व्यस्त रहने महिलाहरूका लागि तिज पर्व आत्मीयता बाँड्ने, खुसी साट्ने र सन्देश प्रवाह गर्ने एक महत्वपूर्ण अवसर बनेको छ।

1755717384365

उपप्रमुख राईले थप्दै भन्नुभयो, “तिज हाम्रो संस्कृति मात्र होइन, महिला सशक्तिकरणको एउटा प्रेरणादायी पर्व पनि हो। महिलाले आत्मनिर्भर बन्न र आत्मविश्वासी नारी समाज निर्माण गर्न तिजले ठूलो प्रेरणा दिन्छ।”

नगरपालिकाले अघिल्ला वर्षहरूमाझैँ यस वर्ष पनि महिलाहरूलाई लक्षित गरी विभिन्न सीप विकास तालिम, आत्मनिर्भर कार्यक्रम र सचेतनामूलक अभियान ल्याइरहेको जानकारी दिंदै उपप्रमुख राईले महिलालाई शिक्षा, सीप र उद्यमशिलतामा जोड दिनुपर्नेमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

1755717376127

कार्यक्रममा सहभागी दिदीबहिनीहरूले तिज गीत गाएर, नाचगान प्रस्तुत गरेर उत्सवलाई झनै आकर्षक र उल्लासमय बनाएका थिए। वातावरणमा महिला–पुरुषको सहभागिता बराबरी रहेको देखिन्थ्यो भने नगरवासीहरूले यसलाई साँच्चिकै महिला पर्वको रुपमा आत्मसात गरेका थिए।

कार्यक्रममार्फत बेलका नगरपालिकाले सम्पूर्ण नगरवासीलाई २०८२ सालको तिज पर्वको हार्दिक शुभकामना व्यक्त गर्दै सामाजिक समावेशीता, महिला सशक्तिकरण र सांस्कृतिक पहिचानलाई अझै सबल बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाइएको छ।

1755717405550