इटहरी । डेंगुको बढ्दो जोखिमलाई रोकथाम गर्न संखुुवासभामा लामखुट्टे नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम सुरू गरिएको छ । “घरभित्र वा वरिपरि जमेको पानी हटाऔँ, लामखुट्टेको लार्भा नष्ट गरौँ” भन्ने नारासहित बिहीबार खाँदबारीमा विशेष अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय संखुुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त पहलमा सञ्चालन गरिएको अभियानअन्तर्गत टायर, फूलदान, पानी ट्याङ्की, फोहरमैला, कुचो राख्ने ठाउँ, झाडी वा खुला भाँडामा जमेको पानी हटाइयो । सम्भावित प्रजननस्थलमा भेटिएका अण्डा र लार्भा नष्ट गरिनुका साथै स्थानीयलाई नियमित सरसफाइ गर्न आग्रह गरिएको थियो ।
अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, क्लब र सामाजिक संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भए । उनीहरूले सरसफाइसँगै झाडी फाड्ने, फोहर व्यवस्थापन गर्ने र भाँडामा जमेको पानी सुकाउने काम समेत गरेका थिए । जिल्ला समन्वय समिति (जिसस) का प्रमुख सुमन शाक्यले हिमाली जिल्ला सङ्खुवासभासम्म डेंगु फैलिनु चिन्ताजनक भएको बताउनुहुँदै सरसफाइलाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौ महिनामा मात्रै जिल्लामा ७८ जना डेंगु सङ्क्रमित भेटिएका छन् ।
बिरामी बढ्दै गएपछि स्वास्थ्य निकाय र खाँदबारी नगरपालिकाले सामुदायिक स्तरमै सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएका हुन्। उहाँका अनुसार एडीस एजिप्टी लामखुट्टे बिहान र बेलुकी बढी सक्रिय हुने र सफा पानीमा अण्डा दिने भएकाले घर वरिपरि जम्ने पानी नै प्रमुख जोखिम बनेको छ । विद्यार्थी र स्वयंसेवकहरूले समुदायलाई डेंगुका लक्षण, रोकथामका उपाय तथा सचेतनासम्बन्धी पर्चा वितरण गरे। सरसफाइलाई निरन्तर अभियानको रूपमा अघि बढाउन सबैलाई सहभागी हुन पनि आग्रह गरियो ।


