इटहरी । हरितालिका तीजको अवसर पारेर इटहरी लेडी जेसीजको आयोजना तथा जुनियर इटहरी लेडी जेसीजको सह–आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।
इटहरीको दुर्गा प्यालेस सभाहलमा आयोजित कार्यक्रममा इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता रहेको थियो भने कोशी प्रदेश सभा सदस्य माननीय यसोदा कायस्थ प्रमुख अतिथि रहनुभएको थियो। सो कार्यक्रमको संयोजक इटहरी लेडी जेसीजकी सचिव सृजना तिम्सिनाले गर्नुभएको थियो ।
कार्यक्रममा गायिका गंगा गौतमले परम्परागत तथा संस्कार झल्कने गीत प्रस्तुत गर्दै उपस्थितलाई मन्त्रमुग्ध बनाउनु भएको थियो। सहभागी महिलाहरूले आ–आफ्ना सांस्कृतिक भेषभूषामा सजिएर गीत, नृत्य र उल्लासपूर्वक तीजको रमाइलो गरेका थिए।
अध्यक्ष बरालले तीज पर्वले संस्कार र संस्कृति जगेर्नासँगै समाजसेवामा समेत प्रेरणा दिने भएकाले संस्था निरन्तर सामाजिक कार्यमा सक्रिय रहेको बताउनुभयो।
प्रमुख अतिथि यसोदा कायस्थले तीजलाई नाचगान र रमाइलोको पर्व मात्र नभई सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक भएको उल्लेख गर्दै यसलाई संरक्षण र प्रवद्र्धन गर्न सबैको योगदान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
यसैगरी, जेसीजले आगामी भदौ १० गते इटहरीको संगीत चोकमा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने जानकारी समेत गराइएको छ।
कार्यक्रममा इटहरी लेडी जेसीजका पूर्व अध्यक्षहरू, जेसीआईका पदाधिकारी तथा सदस्यहरू, स्थानीय समाजसेवी, प्रतिष्ठित महिला तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


