इटहरी । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको एक समारोहका बीच उद्घाटन गरिएको छ । वडा कार्यालय चरम्वीको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख आतिथि अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। कार्यक्रम वडा नं. ४ का अध्यक्ष जंगूबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष खत्रीले स्वास्थ्य चौकी भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाले स्थानीयको स्वास्थ्य सेवा आवश्यकतालाई पूरा गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्थानीय रैकर वालापा युवा सेवा समाज समितिले पञ्चेबाजा बजाएर अतिथिहरूलाई स्वागत गरेको थियो, जसले कार्यक्रमलाई अझ भव्य र आकर्षक बनाएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा गाउँपालिकाका निबर्तमान अध्यक्ष गजेन्द्रबहादुर कार्की, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडाअध्यक्षहरू, पालिकास्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, संघ–संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका कर्मचारीहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


