इटहरी । ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १८ औँ पूण्य स्मृति दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीले प्रभात फेरी गरेको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीमा भदौ ६ गते हुने बृहत् रक्तदान शिविरको पूर्व सन्ध्यामा र्याली निकाल्दै नगर परिक्रमा गरेको हो । रक्तदानबारे जनचेतना फैलाएको उक्त र्याली ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीको भवनबाट सुरु भएर जुटविकास चोक हुँदै हटिया लाइन, इटहरीको मुख्य चोक हुँदै पुनः ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीको भवनमा समापन भएको थियो । उक्त कार्यक्रममा प्रदेश सांसद मिना श्रेष्ठको पनि उपस्थिति रहेको थियो । श्रेष्ठले रक्तदान कार्यक्रमका निम्ति विशेष शुभकामना दिँदै सम्पूर्णमा रक्तदान गरिदिन अनुरोध गर्नुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीको सभाहलमा शुक्रबार बिहान ८ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म रक्तदान कार्यक्रम हुनेछ ।


