इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक महिनाको अवधिमा झन्डै तीन हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ। चालु नयाँ आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा जिल्ला प्रशासन कार्यालयले उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार साउन महिनामा कुल दुई हजार ८४१ जना सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरिएको छ। सबैभन्दा बढी एक हजार ११८ जना सेवाग्राहीलाई राष्ट्रिय परिचपयपत्र विवरण दर्तासम्बन्धी सेवा प्रवाह गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो। यस्तै साउन महिनामा ५८५ जनालाई नागरिकता प्रदान गरिएको छ। सो सङ्ख्यामध्ये २६२ जनालाई नयाँ नागरिकता र ३२३ जनालाई प्रतिलिपि प्रदान गरिएको सहायक प्रजिअ खड्काले बताउनुभयो। उहाँका अनुसार यस अवधिमा २१२ जनाले राहदानी बनाएका छन्। सात जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ भने तीनवटा सङ्घ संस्था र पाँच वटा हातहतियारको नवीकरण गरिएको छ। साउन महिनामै ४२ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको छ भने २६ जनाको राष्ट्रिय परिचयपत्र विवरण सच्याइएको प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयका अनुसार २०८ जना सेवाग्राहीलाई राहदानीको अनलाइन फाराम निःशुल्क भरी दिइएको छ। त्यस्तै ४१० जना सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा प्रवाह गरिएको प्रशासन कार्यालयले जनाएको छ।