इटहरी । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका–४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिनुभयो ।
पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सदस्य राजेन्द्र राई, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलगायतले निरीक्षण गर्नुभएको थियो । पुल तत्काल मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको वडा सदस्य चाम्लिङले बताउनुभयो । हाल पुलको क्षति बढ्न नदिन आवश्यक सतर्कता अपनाइँदै आएको र जोखिम न्यूनीकरणका उपायमा प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।


