इटहरी । बराह किर्तन टोली, इटहरी–९ ले तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको यस किर्तन टोलीको अध्यक्षता जेष्ठ नागरिक यशोदा देवी रेग्मीले गर्नुभएको थियो । उहाँले तीजलाई भड्किलो खर्च र देखावटीपनमा सीमित नगरी, धार्मिक र सामाजिक भावना सहित सरल तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा किर्तन टोलीका सदस्यहरूले बालगीत, भजन तथा तीजका गीतमा नृत्य प्रस्तुत गरेका थिए । सहभागी महिलाहरूले परम्परागत पोशाकमा सजिएर गीत, नृत्य र उल्लासपूर्वक तीजको रमाइलो गरेका थिए । समुदायका विभिन्न व्यक्तित्वहरूले तीज पर्वलाई खर्चिलो प्रतिस्पर्धा भन्दा आस्था, भाईचारा र सांस्कृतिक ऐक्यबद्धता बढाउने पर्वका रूपमा मनाउनुपर्ने धारणा राखेका छन्। बराह किर्तन टोलीले आगामी दिनमा पनि धार्मिक र सांस्कृतिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।


