इटहरी । मोरङको सुन्दरहरैचा–७ मा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानद्वारा आयोजित नगर स्तरीय तीज विशेष नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्टस् ग्राममा भएको तीज विशेष नृत्य प्रतियोगितामा कौसीका भजन समूहले प्रथम स्थल हासिल गर्न सफल भएको छ । दोश्रोमा बिष्णु पाञ्चायन भजन समूह,तृतीय पाथिभरा भजन समुह र लालीगुराँस भजन समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रमकी संयोजक निर्मला फुयालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समुहलाई नगद, सहित प्रशंसापत्र वितरण गरिएको संयोजक फुयालले बताउनुभयो । कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरुले रातो साडी, चोलो तथा विभिन्न गरगहना लगाएर तीजका भाकामा नाचेर रमाइलो गरेका थि ए। त्यस्तै, स्थानिय कलाकारहरुले प्रस्तुत गरेका नृत्य, गायन तथा जनचेतनामूलक नाटकले कार्यक्रममा थप रौनकता भरेको थियो । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पु¥याउने संस्थालाई तथा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष गंगानाथ पोख्रेलको अध्यक्षता तथा सामाजिक व्यक्तित्व मित्रसेन योन्जनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईं, आश्रय सुधार केन्द्रका संयोजक सेवक खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सल्लाहकार सुरज बिष्टले गर्नुभएको थियो ।


