इटहरी । मोरङको पथरी शनिश्चरे –०२ को हरियाली सामुदायिक वनको हलमा  शब्द थिएटरको आयोजनामा “चरणदास चोर“ नामक नाटक भव्यताका साथ मञ्चन भइरहेको छ । गत साउन ३१ गतेदेखि मञ्चन भइरहेको उक्त नाटकमा  मोफसलमा रहेर पनि कलाकारहरूले  जिवन्त अभिनय  गरिरहेको दर्शक तथा श्रोताहरूले बताएका छन् ।  यस अघि विसं २०७८ मा “अनि देउराली रून्छ“ नामक नाटक मञ्चन गरिसकेको यस शब्द थिएटरले यसपटक पनि आसपासका कला, साहित्य र नाटय प्रेमी दर्शक श्रोताहरूलाई उत्कृष्ट प्रदर्शनका साथै मञ्चन भइरहेको  निर्देशक जीवन बरालले जानकारी दिनुभयो । आगामी भदौ १३ गते सम्म मञ्चन हुने उक्त नाटकमा  एउटा चोरको ईमान्दारिता र गुरु– मन्त्रको अटुट विश्वास कस्तो दिगो हुन्छ भन्ने कुरा सहित  समसामयिक विषयवस्तुहरूलाई  समेत यो नाटक मार्फत प्रस्तुत गरिएको निर्देशक जिवन बरालले जानकारी दिनुभयो । नाटक हेरिसकेपछि  न्यू गोर्खाली पाउरौटी उद्योगका  प्रबन्ध निर्देशक तुलसी ढकालले नाटकमा  कलाकारहरूको अभिनय , प्रस्तुति र विषयवस्तु अत्यन्तै राम्रो लागेको प्रतिक्रिया दिनुभयो । नाटकमा समसामयिक घटना र सामाजिक विषयवस्तुलाई नाट्य शैलीमा व्यङ्ग्यात्मक अभिनयमार्फत प्रस्तुत गरिएको छ । नाटकको प्रमुख पात्रहरूमा क्रमशः प्रेम खतिवडा, सुमन कुइकेल, अशोक सम्पाङ, सन्तोष (छत्र) राई, नवीन रिजाल, रोशन मुर्मु, पुष्प राई, प्रवेश खाती, प्रसुना तिम्सिना, भूमिका बस्नेत, करुणा तिम्सिना, ग्रीष्मा लिम्बु, अतिशा श्रेष्ठ लगायत १४ जना कलाकारले जीवन्त अभिनय प्रस्तुत गरिरहेका  निर्देशक बरालले जानकारी दिनुभयो ।