इटहरी । मोरङको सुन्दरहरैचा–१० मा रहेको हिमालय इङ्गलिस स्कुलले हरितालिका तीजको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरेको छ । स्कुलको प्रांगणमा अभिभावक र विद्यार्थीलाई तीजको दर खुवाउँदै मनोरंजन सहित तीज कार्यक्रम मनाईएको हो । विद्यालयका प्रिन्सिपल कमल खनालका अनुसार, विद्यार्थीलाई संस्कार र संस्कृति सम्बन्धी जानकारी दिने र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। खनालले स्कुललाई अन्य विद्यालयभन्दा फरक किसिमले सञ्चालन गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसँगै छुट्टै नमूना विद्यालयको रूपमा अघि बढाएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वडा नं १२ का अध्यक्ष  तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले विद्यार्थी र अभिभावकले आफ्नो भेषभूषामा विशेष ध्यान दिएको देखेर खुशी व्यक्त गर्नुभयो । ढकालले स्कुलमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै प्रदान हुने व्यवस्था प्रशंसा योग्य भएको बताउनुभयो ।  कार्यक्रमका विशिष्ट अतिथि स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई, समाजसेवी भीम अधिकारी, अमकास नेपालकी उमा सेढाई लगायतको उपस्थिति रहेको थियो ।