इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं २ मा अवस्थित श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले बुबाको मुख हेर्ने दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उपस्थित अभिभावकहरूलाई टोपी लगाएर सम्मान गरेको छ । शुक्रबार विद्यालयको नवनिर्मित सभाहलमा कार्यक्रमका बीच छात्र छात्राहरूले आ–आफ्ना  बुबाहरूलाई टोपी लाइदिएर सम्मान प्रकट गरेका हुन् । वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख अतिथ्यता तथा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले आ–आफ्ना बुबाहरूलाई बुबाको मुख हेर्ने दिवसको सम्झना गर्दै त्यस्तो सम्मान गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष राईले विद्यालयले विगत केही वर्षदेखि निरन्तर रूपमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा अब्बल नतिजा हासिल गर्दै आएको र गुणस्तरीय शिक्षा प्रदान गर्दै देश विदेशमा पथरी  शनिश्चरे नगरलाई नै परिचित तुल्याउन सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो। उक्त अवसरमा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम आयोजना गरेको बताउनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले कविता, गीत तथा अन्य विभिन्न विधामा आआफ्ना प्रस्तुतिहरु दिएका थिए । उक्त अवसरमा  विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेन , शैक्षिक संयोजक तिर्थ दहाल,  द भ्वाइस अफ  किड्स सिजन ४ का फाइनलिस्ट विद्यार्थी निश्चल लिम्बु,  अभिभावक शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।