इटहरी । तीज तथा जितिया पर्वको अवसरमा पतञ्जलि योग समिति नेपाल, इटहरी उपमहानगर समितिले  अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले योग भवन निर्माणका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन गरिने जानकारी दिनुभयो ।  पतञ्जली योग समीती नेपाल इटहरी उपमहानगर समीतीको अध्यक्ष उर्मिला कटुवालको सभापतित्वमा भएको कार्यक्रममा  मेयर पौडेलले स्वास्थ्य प्रति सचेत समाज निर्माणका लागि योग अभ्यास अत्यावश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले यस अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वक्ताहरुले योग अभ्यासलाई दैनिक जीवनशैलीमा अंगीकार गर्न सकेमा महिलाको सशक्तिकरण मात्र नभई सम्पूर्ण समाजको स्वास्थ्य र मानसिक सन्तुलनमा टेवा पुग्ने धारणा राखेका छन् । पतञ्जलि योग समिति नेपाल, इटहरी उपमहानगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, महिला सहभागिता समूह र योग साधकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025-08-23 at 06.34.02_fbe55baa