इटहरी | हरितालिका तीजको अवसर पारेर महिला सशक्तिकरण समूह इटहरीले मंगलबार एक विशेष दर खाने कार्यक्रम आयोजना गरेको छ।
समूहकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिलाहरूको सांस्कृतिक पर्व तीजलाई सामाजिक सद्भाव र सशक्तीकरणको अभियानमा जोड्ने विषयलाई विशेष महत्व दिइएको थियो।
अध्यक्ष घिमिरेले संस्थाले निरन्तर रूपमा समाजमा महिलाको पहिचान र अग्रसरतालाई प्रोत्साहित गर्दै आएको बताइन्। सोही अवसरमा प्रमुख अतिथि चौधरीले तीज केवल मनोरञ्जनको पर्व नभई महिलाको अधिकार, आत्मसम्मान र सहकार्यको अभियानमा परिणत भएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय सरकार महिलामुखी गतिविधिमा सहयोगी बन्ने प्रतिवद्धता जनाइन्।
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीकी सदस्य कुमारी वि.क, इटहरी वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठ, शान्ति जनकल्याण सहकारी संस्थाका अध्यक्ष चन्द्र गिरि, नेपाली कांग्रेस इटहरी उपमहानगर २० का सभापति अर्जुन बस्नेतसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा महिलाहरूले नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत तीजको उल्लास मनाएका थिए।



