इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक समाज सुन्दरहरैचा ३ ले कुसे औसी तथा बुवाको मुख हेर्ने पर्वको अवसरमा पिता सम्मान कार्यक्रम गरेको हो। जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ का अध्यक्ष भीम बहादुर कार्कीको अध्यक्षता तथा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा लक्ष्मी नारायण मन्दीरको सभाहलमा भएको कार्यक्रममा ७० वर्ष नाघेका पुरुष ज्येष्ठ नागरिकहरुको सामुहिक पिता सम्मान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष ढुंगानाले सामुहिक पिता सम्मान कार्यक्रम महत्वपुर्ण भएकोले यस्तो खालको कार्यक्रमले समाजमा जेष्ठ नागरिक प्रतिको सद्भाव तथा आदर सम्मानलाई उच्च बनाउने बताउनुभयो। कार्यक्रमका अध्यक्ष भीम बहादुर कार्कीले बुबाहरु प्रति राम्रो हेरविचार गरिनु पर्ने भन्दै पिता सम्मान कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउनुभयो । आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । पिता सम्मान कार्यक्रममा १ सय १० जना बुबालाई ढाका टोपी र दोसल्ला ओडाएर सम्मान गरिएको जेष्ठ नागरिक समाजकी सहजकर्ता रिता दाहालले जानकारी दिनुभयो । कार्यक्रममा साथी कम्युनिकेसनका सञ्चालक निरञ्जन प्रसाद आचार्यले जेष्ठ नागरिक सेवा समाज सुन्दरहरैंचा–३ का लागि १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी अध्यक्ष भीम बहादुर कार्कीलाई चेक हस्तान्तरण गर्नुभएको छ । सो कोषको व्याजबाट प्रत्येक वर्ष बाबुको मुख हेर्ने दिनमा विपन्न जेष्ठ नागरिकलाई सम्मान गरिनेछ । साथै, आचार्यले समाजलाई ५ थान सिलिङ पंखा पनि सहयोग गर्नुभएको छ ।


