इटहरी । लायन्स एण्ड लियो क्लब अफ बिराटनगर यङ्ग हर्टले स्व. पुष्प थारुको सम्झनामा अन्तर–कलेज वक्तृत्व प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी भदौ १३ गते शुक्रबार बिहान मोरङ मर्चेन्ट्स एशोसिएसनको सभाहलमा हुने कार्यक्रममा १६ वटा विद्यालय तथा कलेज सहभागी हुनेछन् । बिहीबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिँदै लियो क्लब अफ बिराटनगर यङ्ग हर्टका अध्यक्ष कुशल कोइरालाले समाजसेवी स्व. थारुको योगदान, नेतृत्व र समर्पणलाई स्मरण गर्दै युवाहरुलाई आत्मविश्वासी र अभिव्यक्तिशील बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताको सञ्चालन अभिष निरौला र आयुषा बान्तवा राईले गर्नुहुने छ भने निर्णायक मण्डलमा डा. सन्देश दास श्रेष्ठ, दिली प्रसाई र अर्को एक निर्णायक रहने जनाइएको छ । प्रतियोगितामा जिनियस ग्रुप मुख्य प्रायोजक रहनेछ भने एयरपोर्ट होटल, होटल एशियाटिक, फ्रीस्टाइल फिटनेस, अप टाउन क्याफे, नाङ्लो क्याफे, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स लगायतका संस्थाहरू सह–प्रायोजकका रूपमा रहने जानकारी क्लबका सचिव ओसामा साकिनले दिनुभएको छ ।


