इटहरी । ईटहरी उपमहानगरपालिका–९ स्थित ईटहरी आवास टोल विकास संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । करिब ७ सय जना पुरुष तथा महिलाको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता दीनेश कार्कीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जितेन्द्र थापा रहनु भएको थियो भने अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनुका साथै उनीहरूको मनोरञ्जनका लागि विभिन्न खेलकुद कार्यक्रम गराइएको थियो । खेलतर्फ ७७ वर्षका तेजकुमार पन्धक लिम्बू प्रथम, ८२ वर्षीया छत्रमाया आचार्य द्वितीय र ७१ वर्षीया पद्मादेवी निरौला तृतीय हुनुभएको थियो । त्यस्तै, महिलाहरूमाझ आयोजना गरिएको म्युजिकल चियरमा उमा घिमिरे प्रथम, रिता आचार्य द्वितीय र सागरिका बुढाथोकी तृतीय हुनुभएको थियो । साथै, बाल कलाकार विजिस्ता आचार्य र यमुना आचार्यले प्रस्तुत गरेको नृत्यले दर्शकलाई मन्त्रमुग्ध पारेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि थापाले यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले समाजमा मेलमिलाप र उत्साह थप्ने बताउनुभयो । उहाँले यस्ता गतिविधिलाई निरन्तरता दिन आयोजकलाई धन्यवाद दिंदै शुभकामना व्यक्त गर्नुभयो । सभापति दीनेश कार्कीले, यस टोलका पुरुषहरूले महिलालाई चेली र माईतीको रूपमा सम्मान गर्दै दर खाने–खुवाउने कार्यक्रम आयोजना गरेको र यसलाई सामुदायिक एकताको प्रतिकका रूपमा लिइएको बताउनुभयो ।