इटहरी । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकलाई पत्रकार मैत्री बनाउन आफुले प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार बिराटनगरमा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा सभामुख बिष्टले विधेयक बारे उठेको चासो र जिज्ञासालाई मुख्यमन्त्री र सम्बन्धित मन्त्री सम्म पु¥याउने जिकिर गर्नुभयो । उहाले अग्रजहरुलाई सम्मान र उनीहरुको विचार र सिद्धान्तलाई आत्मसात गर्न सके जीवन सुखमय हुने धारणा पनि राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ वरिष्ठ पत्रकार तिर्थ कोइरालालाई प्रदान गरिएको छ । सभामुख विष्टले वरिष्ठ पत्रकार कोइरालालाई सम्मान पत्र र नगद राशी प्रदान गर्नुभयो । पुरस्कारको राशी ३० हजार रुपैया रहेको छ ।


