इटहरी । लक्ष्मी डान्स स्टुडियोको आयोजनामा तीज डान्सिङ स्टार सिजन–४ तथा किड्स डान्सिङ स्टार सिजन–२ को प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा गरिएको उक्त प्रतियोगितामा ३० जना महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए ।
तीज डान्सिङ स्टार सिजन–४ मा विजेता स्वागत डान्स एकेडेमी (केर्खा), साइनिङ्ग स्टार एकेडेमी इटहरी दोस्रो , ह्याङ्गला डान्स स्टुडियो आपगाछी तेस्रो र द डान्स गार्डेन धरान चौथो बनेका छन् । त्यस्तै ,किड्स डान्सिङ स्टार सिजन–२ मा विजेता गुञ्जन लिम्बु , सिमरन मगर दोस्रो , कृतिका खड्का तेस्रो र सुहारिका कार्की चौथो बनेका छन् । विजेताहरूलाई प्रमाणपत्र र पदक सहित पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम लक्ष्मी डान्स स्टुडियोकि अध्यक्ष भिम कुमारी समल मगरको सभापतित्व तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्टुडियोकी सञ्चालक लक्ष्मी समल मगरले नारीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
वरिष्ठ नाट्य निर्देशक पनिता तामाङको उपस्थितमा कार्यक्रम समापन गरिएको थियो । सो अवसरमा मकालु बोर्डिङ स्कुलकी सञ्चालक रोजिना शर्मा ,गायिका गंगा गौतम आचार्य ,कलाकार कृष्ण नेपाल ,गायक रेमन मगर लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।


