इटहरी । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो । वडाले करिब रु ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुत्केरी आमामा पोषण कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग सम्बन्धित सचेतनामूलक सन्देश पनि दिइएको छ ।