इटहरी । हरितालिका तीजको अवसर पारेर सञ्चारिका समूह सुनसरीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रमको अध्यक्षता सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रन्जना पौडेलले गर्नुभएको थियो भने कोशी प्रदेश योजना आयोग सदस्य प्रमिला गछदार प्रमुख अतिथि रहनुभएको थियो । अध्यक्ष पौडेलले महिलाको सशक्तिकरण र उत्थानका लागि समूह निरन्तर सक्रिय रहेको बताउनुभयो । त्यस्तै प्रमुख अतिथि गछदारले महिला सशक्तिकरण र सामाजिक सहयोगका कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गायिका गंगा गौतम आचार्यले प्रस्तुत गरेका गीत–संगीतले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, माया घर नेपाल इटहरीकी अध्यक्ष सुबद्रा प्याकुरेल, इटहरी लेडीज जेसीजकी अध्यक्ष लक्ष्मी बराल लगायत पत्रकार, विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो । सहभागी महिलाहरू सांस्कृतिक भेषभूषासहित तीजको उल्लासमा नाचगान, गीत र रमाइलोमा सहभागी भएका थिए । साथै उनीहरूले तीज पर्वको महत्व, नारी समानता र सशक्तिकरणका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रमको समापनमा सञ्चारिका समूहका पदाधिकारीहरूले आगामी दिनमा पनि महिलामुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।