धरान । शिल्पी स्मार्ट नेपाल धरानको आयोजनामा भएको मिसेस तीज क्विन धरान ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा शिल्पी स्मार्ट नेपालकी अध्यक्ष मिना गजमेरको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा करिब २५० जना महिलाहरू सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रस्तुति गर्ने प्रतिस्पर्धीमध्ये शान्ति राई सेकेन्ड रनरअप, लुना कपाली फस्ट रनरअप, मनिषा विश्वकर्मा विजेता तथा सुस्मिता विश्वकर्मा पब्लिक च्वाइस अवार्ड विजेता घोषित भए । विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । निर्णायक मण्डलले प्रतिभागीहरूको आत्मविश्वास, सांस्कृतिक ज्ञान, व्यक्तित्व तथा प्रश्न–उत्तरमा दिएको धारणा आधार मानेर नतिजा सार्वजनिक गरेको थियो ।
कार्यक्रममा सहभागी महिलाहरूले तीजसँग सम्बन्धित रङ्गीन भेषभूषा सहित र्याम्प वाक, तीजका गीतमा नृत्य र विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । विशेषगरी प्रश्न–उत्तर चरणमा सामाजिक सन्देशमय उत्तरहरूले दर्शक तथा निर्णायकलाई प्रभावित तुल्याएको थियो ।
अध्यक्ष मिना गजमेरले तीज पर्वलाई कला, संस्कृति र प्रतिभासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता महिलाको आत्मविश्वास र क्षमताको प्रदर्शनका साथै समाजमा सकारात्मक सन्देश फैलाउने मञ्च बनेको बताउनुभयो ।
त्यस्तै प्रमुख अतिथि उपप्रमुख अइन्द्रविक्रम बेघाले तीज जस्ता पर्वले महिलाको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूले शहरको सांस्कृतिक जीवन समृद्ध हुने धारणा राख्नुभयो ।
कार्यक्रममा गायक/गायिका पम्फा बजार, कृष्ण राज श्रेष्ठ र अशोक कुमार छेत्रीले सांगीतिक प्रस्तुति दिएका थिए भने हाम्रो डान्स एकेडेमीका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । कोरियोग्राफर मेरिना लिम्बू र सह–कोरियोग्राफर स्वेता भुजेलले कोरियोग्राफी गर्नुभएको सो कार्यक्रमको उद्घोषिका भूमिका रसाईली गर्नु भएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथिहरू सत्य शिशु निकेतन बोडिङ्ग स्कूल धरान १५ का अध्यक्ष तिल बहादुर सेन्चुरी, सरस्वती शिशु निकेतन धरान १५ का प्रिन्सिपल बम बहादुर ल्वागुन, ल्वागुन प्रतिष्ठान नेपालका बरिष्ठ सल्लाहकार किशोर कुमार ल्वागुन ,दलित मुक्तिमोर्चाको अध्यक्ष कृतिमान दर्नाल, निसहाय सहयोग परिषद्का प्रतिनिधि दिनेश गजमेर, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, महिला अगुवा तथा स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति थियो ।




