इटहरी । टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा  पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो । सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले किसानको आर्थिक उन्नतिमा टेवा पुग्ने बताउनुभयो । आधुनिक उपकरणसहितको भवनले यहाँको कृषि(पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहज हुने उहाँको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशु छुट्टाछुट्टै प्रयोगशाला रहेकाले रोग र कीराको पहिचान गर्न सहज हुने बताउनुभयो । भविष्यमा कुनै महामारी देखिए यही परीक्षण गरेर तत्काल कदम चाल्न सकिने अवस्था बनेको उहाँको भनाइ छ ।

भवन निर्माणले रोग कीराको अनुसन्धानसँगै गाउँपालिकाका नागरिकलाई सेवा प्रवाहमा सहजता भएको टेम्केमैयुङ(३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । भवनबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन भूमिका खेल्नुपर्ने उहाँ बताउनहुन्छ । आर्थिक करिडोर कार्यालय पाख्रीबासका प्रमुख डा।इन्द्रनारायण शाहले भवनमा प्रयोगशालादेखि फर्निचरसम्म सबै आवश्यक उपकरण जडान भइसकेको जानकारीले दिनुभयो । भवन अपाङ्गमैत्री रहेकाले गाउँपालिकावासी किसानले यस भवनबाट कृषि र पशु रोग अनुसन्धान, उपचार र उत्पादन वृद्धिमा प्रत्यक्ष लाभ पाउने अपेक्षा लिएका छन् ।