इटहरी। अखिल नेपाल महिला सङ्घ इटहरी उपमहानगर कमिटीको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम इटहरीमा भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ इटहरी उपमहानगर कमिटीकी अध्यक्ष रोशनी राईले गर्नुभएको थियो।

सो अवसरमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, प्रदेश राज्यमन्त्री सिर्जना राई, प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, अमृता सुब्बा, कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी लगायत उच्च राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

IMG_20250826_135515

कार्यक्रमलाई अझ आकर्षक बनाउन इटहरीका विभिन्न वडाबाट महिलाहरूले सहभागिता जनाई वडागत प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा सहभागीहरूले तीजका परम्परागत र आधुनिक दुवै शैलीका नृत्य प्रस्तुत गरी वातावरणलाई झनै रमाइलो बनेको थियो।

538739741_24430873629936146_804584030868457704_n

सांगीतिक पक्षमा लोकप्रिय गायिका गङ्गा गौतम र गायक बालकृष्ण कार्कीले प्रस्तुति दिँदा सहभागी महिलाहरू झुमेका थिए। कार्यक्रममा हजारौं स्थानीय महिलाहरूको उपस्थितिले सम्पूर्ण कार्यक्रम उत्साहमय बनेको थियो।

538541129_24430873779936131_8918880066718731352_n

प्रमुख अतिथि हमालले सम्बोधन गर्दै तीज पर्व केवल गीत–संगीतमा सीमित नभई महिलाहरूको अधिकार, समानता र एकताका लागि प्रेरणा दिने पर्व भएको उल्लेख गर्दै समाजमा महिलाको नेतृत्व र सक्रियताको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमहरूले महिला सशक्तीकरणमा टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा महिला अधिकार, सांस्कृतिक संरक्षण तथा सामाजिक सद्भावका विषयमा विभिन्न मन्तव्यहरू समेत प्रस्तुत गरिएको थियो।

539533838_24430873493269493_8113650952420240582_n

अनेम सङ्घ सुनसरीले गरेको इटहरीको कार्यक्रमका साथसाथै सुनसरी जिल्लाका इनरुवा, धरान, इटहरी लगायत छ ठाउँमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुद्ध पिउने पानी वितरण गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रिजेन भट्टराईले बताउनुभयो।

IMG-20250826-WA0062