इटहरी । इटहरीकी गायिका अन्जु गौतमले म्युजिक नेपाल र त्यसका प्रमुख सन्तोष शर्माले आफ्नो गित ब्लक गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नै स्वरमा रेकर्ड गरिएको गित ब्लक गरेको भन्दै आपत्ति जनाउनुभएको हो । आफूले गाएको तीन वटा गीत केही समय अघि आफ्नै युट्युब च्यानल ‘अन्जु गौतम अफिसियल’ मार्फत सार्वजनिक गर्नुभएको थियो । तर ती गीतहरू म्युजिक नेपाल र प्रमुख शर्माले ब्लक गरेको उहाँले बताउनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले नेपालको प्रतिलिपि अधिकार ऐनको दफा–४ अनुसार प्राचीन लोकभाका जुनसुकैले आफ्ना सिर्जनामा समावेश गरेर गाउन पाउने व्यवस्था रहेको स्मरण गराउँदै लोकगीत–संगीत कुनै व्यक्ति वा कम्पनीको निजी सम्पत्ति नहुने स्पष्ट पार्नुभयो । नेपाली समाजका विभिन्न समुदाय र भौगोलिक क्षेत्रले आफ्ना मौलिक शैली, राग, वाद्य यन्त्र र नृत्य परम्परा पुस्तौंदेखि श्रुति र गायन मार्फत संरक्षण गर्दै ल्याएको उल्लेख गर्दै उहाँले यस्तो सम्पदा सबैको साझा धरोहर भएको बताउनुभयो । गौतमका अनुसार म्युजिक नेपाल र प्रमुख शर्मा समक्ष पटक–पटक सम्पर्क गरी गीतको ब्लक हटाउन आग्रह गर्दा पनि सुनुवाइ नभएकाले आफू बाध्य भएर पत्रकार सम्मेलन गरेको बताउनुभयो । उहाँले यो कदम असंवैधानिक तथा गैरकानुनी भएको दाबी गर्दै यसले नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सुनिश्चित गरेका तीनवटा मौलिक हक उल्लङ्घन गरेको आरोप लगाउनुभयो । संविधानको धारा १९ ले आफ्नो सिर्जना वा रचनामार्फत सञ्चार गर्ने हक , धारा २५ ले बौद्धिक सम्पत्तिबाट व्यावसायिक लाभ लिन पाउने हक र धारा ३२ ले भाषा, लिपि, संस्कृति र सांस्कृतिक सभ्यता संरक्षण गर्ने हक दिएको छ । गौतमले गीत सार्वजनिक गर्न आफूले व्यहोरेको खर्चसमेत क्षतिपूर्ति दिनुपर्ने माग गर्दै, माग सम्बोधन नभएमा बाध्य भएर कानुनी उपचार खोज्ने चेतावनी दिनुभएको छ ।


