इटहरी । संखुवासभाको श्री मादी माध्यमिक विद्यालयले आफ्नो ७५ औं जन्मजयन्ती तथा हीरक महोत्सव मनाएको छ । बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विद्यालयले हीरक महोत्सवको मनाएको हो । सो क्रममा विद्यालय परिसरमा स्थापना गरिएको हीरक स्तम्भ र सरस्वती मूर्तिको अनावरण गरिएको थियो । हीरक महोत्सवको अवसरमा विद्यालयलाई विभिन्न समयमा आर्थिक, भौतिक र बौद्धिक योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थाहरुलाई विशेष अभिनन्दन र सम्मान समेत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संखुवासभा प्राकृतिक सम्पदामा मात्र होइन, शैक्षिक योगदानका हिसाबले पनि धनी रहेको बताउनुभयो । उहाँले विद्यालयले आफ्नो ७५ वर्षको लामो यात्रामा नेपालको ग्रामीण भेगमा शिक्षा विस्तार र सशक्तिकरणमा पु–याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले समयसँगै शैक्षिक पाठ्यक्रममा आवश्यक परिमार्जन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।, व्यवहारिक जीवनमा उपयोग हुने सीपमूलक शिक्षा अनिवार्य रहेको बताउनुहुँदै अब विद्यार्थीलाई व्यावसायिक र सीपयुक्त बनाउन सक्ने खालका शैक्षिक पाठ्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद दाहालले विद्यार्थी, अभिभावक र समुदायको सक्रिय सहकार्यबाट विद्यालयलाई आगामी दिनमा थप सफलताको यात्रातर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा प्रध्यानध्यापक विश्वनाथ सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन, सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो । साथै प्रतिभावान तथा आवश्यकता अनुसारका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने शैक्षिक, साहित्यिक र खेलकुद क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, कोशी प्रदेश सभा सदस्य विदुर लिङ्थेप, विभिन्न स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।


