इटहरी । खोटाङ जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् । वर्षातको समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या भएको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैँचा त कोही जिल्ला समन्वय समितिको पार्किङस्थलमा बसिरहेका भेटिन्छन् ।
आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक १०० जनाभन्दा बढी जिल्ला प्रशासन आउने गरेका छन् । गाडी रिजर्भ गरेर आएका अधिकांश सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको विवरण नवीकरण गर्न अनिवार्य वायोमेट्रिक्स गर्नुपर्ने नियम सरकारले लागू गरेपछि सबैभन्दा बढी उनीहरूलाई सास्ती भएको छ । प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि आफ्नो पालो कुरेर बस्न प्रशासनले प्यासेज (आवतजात गर्ने ठाउँ)मा म्याट (प्लाष्टिकको फर्म) बिच्छ्याइदिएको छ । कहिले स्टेशनमा जडान गरिएको सर्भरले काम नगर्ने त कहिले धेरै भीड भएर पालो कुर्नुपर्ने समस्याले सेवाग्राही हैरानीमा परेका छन् ।
अहिले सामाजिक सुरक्षाभत्ता लिइरहेका सेवाग्राहीलाई खाता खोल्न बैंकहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि फारम भर्न आउने लाभग्राहीको सङ्ख्या बढेको पाइएको छ । राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा स्टेशन र जनशक्ति अभाव हुँदा सेवाग्राहीको फारम भर्न समस्या भएको जिल्ला प्रशासन कार्यालयमा सञ्चालित राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनका प्रमुख फनिन्द्र राईले बताउनुभयो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पाँचवटा वडाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको बैंक परिवर्तन गर्नुपर्ने भएकाले थप समस्या सृजना भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाइका फिल्ड सहायक गम्भीर खत्रीले बताउनुभयो । बैंक परिवर्तन र वडामा घुम्ती टोलीमार्फत फारम भरिएका अधिकांश लाभग्राहीको राष्ट्रिय परिचयपत्र सिस्टममा ‘एप्रुभ’ नभएकाले समस्या सृजना भएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरिएको छ । इलाका प्रशासन कार्यालयले जन्तेढुङ्गा, खोटेहाङ र बराहापोखरी गाउँपालिकाका नागरिकको राष्ट्रिय परिचयपत्रको फारम भर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय दिक्तेलमा भने बाँकी दुई नगरपालिका (दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका) तथा पाँच गाउँपालिकाको एकै स्टेशनबाट सेवा प्रवाह गर्दा सेवाग्राही मारमा परेका छन् । सेवा लिन आउनेको सङ्ख्या बढेपछि पालो नपाएका सेवाग्राही तीन दिनसम्म होटलमा बस्न बाध्य छन् ।
राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जिल्ला प्रशासन आएका सेवाग्राहीलाई राति अबेरसम्म खटिएर भए पनि सेवा उपलब्ध गराउने गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि ‘वायोमेट्रिक भेरिफिकेसन’मा समेत राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरिएपछि लाभग्राही थप समस्यामा परेका छन् । विसं २०७७ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सुरु गरिएको जिल्लामा एक लाख २२ हजार २७५ नागरिकले राष्ट्रिय परिचयपत्रको फारम भरिसकेको तथ्याङ्कमा उल्लेख छ ।


