इटहरी । धनकुटामा विश्वकै लामो र दुर्लभ मानिने किङ कोब्रा सर्प भेटिएको छ । पाख्रीबास नगरपालिका–५, घोर्लिखर्क स्थित दियालेमा किङ कोब्रा भेटिएको हो। करिब साढे १० फुट लम्बाई र साढे ७ केजी तौलको किङ कोब्रा सर्प लेगुवाका प्रदिप श्रेष्ठले स्थानिय बलिन्द्र मगरको घरबाट बिहिबार राति ९ बजे उद्धार गर्नुभएको हो । उहाँले धनकुटामा दोस्रो पटक किङ कोब्रा देखिएको बताउनुभयो। स्थानियले सर्प देखपछि श्रेष्ठलाई खबर गरेका थिए । उहाँले यस भन्दा अगाडीे बैशाख १९ गते धनकुटको महालक्ष्मी नगरपालिका–४, स्थित लेगुवाबाट पहिलो पटक १२ फुट लम्बाई र सात किलो तौलको किङ कोब्रा सर्प उद्धार गर्नृुभएको थियो। उद्धार गरेको सर्प डिभिजन वन कार्यालय धनकुटामा बुझाईएको छ । श्रेष्ठले करिब पाँच वर्षदेखि सर्प उद्धारको काम गर्दै आउनुभएको छ । अहिलेसम्म तीन सय भन्दा माथि सर्प उद्दार गरिसकेको उहाँको भनाइ छ । सर्प रहेको ठाउँमा स्थानियले खबर गरेपछि उद्दारमा सीमित श्रोत साधन र जोखिम मोलेर आफ्नै खर्चमा सबै काम गर्दै आउनुभएका श्रेष्ठले सहयोगका लागि स्थानीय सरकारलाई कुरा राख्दा, चासो व्यक्त नगरेको गुनासो गर्नुभएको छ ।