इटहरी । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुलुक विविध जातजाति, भाषा, धर्म , संस्कृति विविधतालाई स्वीकार गर्दै एकताको सूत्रमा अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय तथा ऋतम्भरा कलेजका विद्यार्थीहरुका लागि आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताउनुभएको हो। उहाँले नेपाल विविध जातजाति, भाषाभाषी, संस्कृति भएको साझा फुलबारी भएको बताउनुहुँदै राष्ट्रिय अखण्डता र एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी एन तिम्सिनाले विद्यालयले विगत ७ वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयले विगत सात वर्षदेखि एसइई र कक्षा १२ को नतिजामा उत्कृष्ट आएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार उक्त विद्यालयबाट कक्षा १२ मा ३ दशमलव ९६ जिपिए ल्याउन सफल चन्दन शाहलाई प्रदेश प्रमुख परशुराम खापुङ र महानायक राजेश हमालले सम्मान गर्नुभएको थियो । सो क्रममा महानायक राजेश हमालले एक अब्बल दर्जाको रूपमा स्थापित शैक्षिक हब बन्न सफल रेडस्टार मावि र ऋतम्भरा कलेजका विद्यार्थीलाई थप शैक्षिक उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको भयो। उहाँले कक्षा ११ र ऋतम्भरा कलेजका बिबिएस प्रथम वर्षमा भर्ना भएका सबै विद्यार्थीहरुलाई उत्प्रेरणात्मक सन्दर्भ र अनुभव प्रस्तुत गर्दै अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, पथरिशनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवि माया काफ्ले, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, विभिन्न वडाका वडाध्यक्षहरू नैना राई, लोक किरण न्यौपाने, विजय लिम्बु, उद्घव बस्नेत, कृष्ण बहादुर कार्की, ईलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल लगायतको उपस्थित रहेको थियो ।


