इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–१ झर्नाघुट्टु र वडा–३ कोल टोलमा निर्मित ४१ वटा सुरक्षित आवास अति विपन्न, भूमिहीन तथा सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिएको छ । शनिबार गाउँपालिकाले आयोजना गरेको समारोहमा ३० घर वडा–३ मा र ११ घर वडा–१ मा निर्माण सम्पन्न गरी परिवारलाई वितरण गरिएको हो । सहारा नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भेटवालका अनुसार बाँसलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी, सिमेन्ट र वालुवाको प्रयोग सहित किचन र शौचालय सहित भूकम्प प्रतिरोधी दुई कोठे पक्की घर निर्माण गरिएको हो। ति आवासहरु २ करोड २८ लाख १ हजार ३ सय ३० रुपैयाँको लागतमा निर्माण भएका छन् । प्रति घर ५ लाख ५६ हजार १३० रुपैंयाको लागतमा निर्माण भएको जनाइएको छ । समारोहका प्रमुख अतिथि सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले  संविधानको भावना र मर्म अनुरूप नै कानेपोखरी गाउँपालिकाले अघिल्ला वर्षहरूझैं यस वर्ष पनि सहारा नेपाल र हेवीटेण्ट नेपालको साझेदारीमा विपन्न, भूमिहीन तथा सुकुम्बासीहरूका लागि सुरक्षित आवास निर्माण गरी  हस्तान्तरण गर्दै आइरहेकोमा प्रशंसा गर्नुभयो। उहाँले संघीय र प्रदेश सरकारको सहयोगमा सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिने वचन दिनुभयो। कोशी प्रदेश सांसद लीला वल्लभ अधिकारीले तटबन्ध, सडक, खानेपानी, बिजुली लगायतका समस्याको समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले आवास कार्यक्रमलाई अझ मजबुत बनाउन संघीय र प्रदेश सरकारसँग सहयोगको अपेक्षा व्यक्त गर्दै डाँस खोला र चिसाङ खोलाको बाढी नियन्त्रणका लागि तटबन्ध तत्काल आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा प्रदेश सांसद लिलाबल्लभ अधिकारी, गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, हेवीटेण्ट नेपालका प्रबन्धक विजय गुप्ता, वडा अध्यक्षहरू, जनप्रतिनिधि, विभिन्न दलका नेता कार्यकर्ता, संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।