भोजपुर | भोजपुर टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड २०२५ बन्न सफल भएकी छन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो प्रतिष्ठित उपाधि हात पारिन्।

लुनाले मिस नेपालको ताजसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। उनलाई गत वर्षकी विजेता आश्मा कुमारी केसीले ताज पहिर्याइदिएकी थिइन्।

यस संस्करणको टप–४ मा लुना लुइँटेल, दीपशिखा नेपाल, उरुषा भण्डारी र सोनी घले पुगेका थिए। 

यस संस्करणमा शीर्ष उपाधिहरूमा  मिस नेपाल वर्ल्ड २०२५: लुना लुइँटेल , मिस नेपाल इन्टरनेसनल २०२५ (दोस्रो उपविजेता): उरुषा भण्डारी , मिस नेपाल अर्थ २०२५: सोनी घले, मिस नेपाल कस्मो २०२५ (पहिलो उपविजेता): दीपशिखा नेपाल  फिनालेमा आधिकारिकरूपमा घोषणा गरिएको हो।

२६ वर्षीय लुना १७ वर्षमै अष्ट्रेलिया पुगेकी थिइन्। उनले त्यहाँ नर्सिङ अध्ययन गरेपछि हाल युनिभर्सिटी अफ सिड्नीमा पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत छिन्। अध्ययनसँगै उनी स्कूबा डाइभरसमेत रहेकी छिन्। उनले सन् २०१५ मा आयोजित मिस टिन नेपालमा पहिलो उपविजेता बनेरै आफ्नो यात्रा सुरु गरेकी थिइन्।

लुनाको जितले भोजपुरवासीलाई गर्वित बनाएको छ। उनी राष्ट्र बैंकका पूर्व निर्देशक एजिन्द्र लुइँटेलकी छोरी हुन् र परिवारकै पहलमा उनको सौन्दर्य प्रतियोगिताप्रतिको रुचि प्रोत्साहित भएको मानिन्छ।