इटहरी । इन्द्रपुर जुनियर जेसीजको आयोजनामा भएको अवको सुन्दरहरैँचा यात्रा विचार र विमर्श हुँदै यथार्थसम्म कार्यक्रम सम्पन्न भएको छ । नेपालीरिका होटलमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका सफल व्यक्तिहरूले सुन्दरहरैँचा नगरलाई अझ राम्रो र व्यवस्थित बनाउन सकिने उपायहरूबारे आफ्ना विचार राखेका थिए । कार्यक्रममा नगरपालिकाको हालको अवस्था र आगामी योजनाबारे नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिको रूपमा उपस्थित महालेखा परीक्षक तोयम रायले यस्ता छलफलहरू नगर विकासका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेमप्रसाद लुइँटेल, विनोद कुमार न्यौपाने, गोपीबहादुर आछामी, राजकुमार ओझा, शिवप्रसाद ढकाल, बिजू कुमार थपलिया, भोलेश्वर दुलाल, डा. राजेन्द्र उप्रेती, बद्रि गुरागाईं, सुलभ बुढाथोकी, डा. सूर्यबहादुर बुढाथोकी र अर्जुनराज अधिकारी लगायतले आ–आफ्नो क्षेत्रमा हासिल गरेका अनुभव साझा गर्दै नगरको समग्र विकास र हितका लागि के–कसरी काम गर्न सकिन्छ भन्ने विषयमा तर्क प्रस्तुत गर्नुभएको थियो । यस विचार–विमर्शले नगर विकासमा सामूहिक सोच र साझा प्रयासको आवश्यकता पुष्टि गरेको आयोजक जेसीजले जनाएको छ ।


