इटहरी । संघीय सरकारले विनियोजन गरेको ३–३ करोड रुपैयाँ बराबरको बजेटमा दुहवी नगरपालिकाका दुईवटा सडक योजनाको स्थलगत निरीक्षण गरिएको छ । प्रतिनिधिसभा सदस्य भगवती चौधरीको विशेष पहलमा सुरु हुन लागेको सडक योजनाको प्रगति तथा कार्यान्वयन तयारीबारे सडक विभागका इन्जिनियर, स्थानीय सरोकारवाला र जनप्रतिनिधिहरूले स्थल अवलोकन गरेका हुन्। दुहवी–६ मा बुढीखोला छठ घाट नजिकैको नर्सरी देखि काली मन्दिर हुँदै दक्षिण हाइवे जोड्ने सडक निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । यस बाटो बनेपछि स्थानीयवासीलाई आवागमन सहज हुनुका साथै धार्मिक तथा पर्यटकीय गन्तव्य छठ घाट र काली मन्दिर सम्म पुग्न थप सहज हुने अपेक्षा गरिएको छ । त्यसैगरी, दुहवी–१२ मा जितमहान मन्दिर देखि सिस्वा हुँदै बुगडहरी साल्पा माध्यमिक विद्यालय र दक्षिण बर्जु नाका सम्म जोड्ने अर्को सडक योजनाको समेत स्थलगत निरीक्षण सम्पन्न गरिएको छ । यो सडक बनेपछि दुहवी–१२ भित्रका बस्ती, विद्यालय र धार्मिक स्थल सम्म पुग्ने यातायात सहज हुने जनाइएको छ । निरीक्षणका क्रममा चौधरीले दुहवीलाई पूर्वाधार विकासमा अगाडि बढाउन यस्ता योजनाहरू महत्वपूर्ण हुने बताउँदै तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले स्थानीय स्तरमा आयात, व्यापार, शिक्षा र धार्मिक पर्यटनलाई समेत यस सडकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय सरोकारवालाहरूले लामो समयदेखि अपेक्षा गरिएको सडक योजना अब कार्यान्वयनमा आउँदा आफूहरूमा उत्साह थपिएको बताएका छन्।


