इटहरी । वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएका धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको गत ४ गते मृत्यु भयोे। केही दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी पर्नुभएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो । पारिवारिक स्रोतका अनुसार श्रीमानको मृत्युको खबर सुनेर विक्षिप्त भई बेहोस हुनुभएकी उहाँकी श्रीमती विद्या मगरको तीन दिनपछि ७ गते मृत्यु भयो । विद्यालाई उपचारका लागि जितपुर नगर अस्पताल पु¥याउँदा पहिले नै मृत्यु भइसकेको घोषणा चिकित्सकले गरिदिएको विद्याका दाजु गणेश मगरले जानकारी दिनुभयो ।
डम्बर दुई वर्षअघि २०८० असारमा वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएको थियो । श्रीमती विद्या भने धनकुटामै छोरीसँगै बस्दै आउनुभएको थियो । मगर दम्पतीका तीन छोरी छन् । सोह्र वर्षीय जेठी छोरी विपना मगर धनकुटा सदरमुकामस्थित तल्लो गोकुण्डेमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । माहिली छोरी १५ वर्षीय सञ्जु मगर पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । कान्छी छोरी समिता मगर दुई वर्ष मात्र हुनुहुन्छ । आफन्तजनले आमा विद्याको काजकिरिया सके पनि बुवा डम्बरबहादुरको लास नआउँदा काजकिरिया हुन नसकेको जनाएका छन् ।
लास धनकुटासम्म ल्याउने प्रक्रियाका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पूरा गरेर पठाइसकेको महालक्ष्मी नगरपालिकाका रोजगार संयोजक गौरव कार्कीले जानकारी दिनुभयो । मृतक मगरका चार दाजुभाइ र आमा हुनुहुन्छ । सबै छुट्टिएर बेग्लाबेग्लै बस्दै आउनुभएको छ । उहाँहरूका बुवाको समेत गत जेठ ६ गते मृत्यु भएको थियो । सामान्य आर्थिक अवस्था रहेको मगर दम्पतीको मृत्युपछि छोरीरूको लालनपालन र हेरचाह कसरी गर्ने भन्ने आफन्त र छरछिमेकमा छलफल भइरहेको स्थानीय विमला थापाले जानकारी दिनुभयो । महालक्ष्मी नगरपालिकाले बालबालिकाको शिक्षामा लाग्ने वार्षिक करिब ६० हजार रुपियाँ खर्च बेहोर्ने नगरप्रमुख धु्रवराज रायले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


