इटहरी । नेपाली समुदायबीच खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम पुर्बेली कप फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको काभ्रेली समाज ह्वाइटले उपाधि जित्न सफल भएको छ भने रोमाञ्चक फाइनलमा प्रतिस्पर्धा गरेको पनौती ११ उपविजेतामा सीमित भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्म काभ्रेली समाज ब्ल्याक र राइजिङ नेपाल ए पुग्न सफल भएका थिए । विजेता बनेको काभ्रेली समाज ह्वाइटले ४ लाख नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता पनौती ११ ले २ लाख नगद सहित ट्रफी र मेडल हात पारेको छ । यसैगरी, सेमिफाइनलमा पुगेका दुवै टोलीले जनही  ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। खेल संयोजक देवलाला चौधरीका अनुसार नेपाली युवाबीचको आपसी सद्भाव, खेलप्रतिको उत्साह र समुदायबीचको एकता अभिवृद्धि गर्ने उद्देश्य सहित यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले नेपाली खेल क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।