इटहरी | यही भाद्र २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ को प्रचार–प्रसारलाई तीव्रता दिँदै निर्माण टिम मोफसल यात्रामा निस्किएको छ । कोशी प्रदेशको इटहरीबाट सुरु गरिएको प्रचारअन्तर्गत सोमबार ईलाइट सिनेमा हलमा पत्रकार सम्मेलन सम्पन्न भयो । कार्यक्रममा प्रमुख कलाकार कामेश्वर चौरसिया र किरण श्रेष्ठसँगै मिडिया कोअर्डिनेटर पवन भट्टराईको सहभागिता थियो ।
पत्रकार सम्मेलनमा इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका सञ्चारकर्मीको उपस्थिति रह्यो । अभिनेता कामेश्वर चौरसियाले दर्शकको निरन्तर माया र साथका कारण आज प्रमुख भूमिकामा देखिन पाएको भन्दै अझै दर्शकको समर्थन आवश्यक रहेको बताए । मधेसको कथामा आधारित यो फिल्म सस्पेन्स क्राइम थ्रिलर भएकाले दर्शकलाई बाध्न सक्ने दाबी पनि उनले गरे ।
हालै ट्रेलर रिलिज कार्यक्रमका क्रममा आफूलाई गरिएको “नचलेका कलाकार” भन्ने प्रश्न विवादमा पनि उनले प्रतिक्रिया दिए । सो प्रश्नले आफूलाई कतैबाट पनि विचलित नगरेको भन्दै, “चल्ने–नचल्ने कलाकार भन्ने कुनै स्थायी मापदण्ड हुँदैन । आज चल्ने कलाकार भोलि नचल्न पनि सक्छ । त्यसबेला के भन्ने ?” भन्दै उल्टै प्रश्न गरे । उनले उक्त प्रश्नलाई असुजबुझपूर्ण भन्दै निर्माण पक्षले पनि भर्त्सना गरेको बताए ।
त्यसैगरी अर्का अभिनेता किरण श्रेष्ठले ट्रेलरले फिल्मबारे पर्याप्त संकेत दिएको उल्लेख गर्दै, यसपछि धेरै कुरा खोल्दा फिल्मको सस्पेन्स बिग्रन सक्छ । त्यसैले सबैलाई भाद्र २७ गते अभिमन्यु हेरेर वास्तविक कथा र चक्रव्यूहको अनुभव गर्न आग्रह गरे ।
पत्रकार भेटघाटपछि फिल्म टिमले आगामी भदौ १७ गते जनकपुर, १८ गते वीरगञ्ज र हेटौंडा, १९ गते चितवन हुँदै काठमाडौंमा प्रचार–प्रसार गर्ने कार्यक्रम रहेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको अभिमन्युलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । पैसाको प्रलोभन, अपहरण र संघर्षलाई मुख्य कथावस्तु बनाइएको फिल्ममा प्रेमको नाटकमार्फत अपहरण र फिरौती माग्ने घटनालाई चित्रण गरिएको छ । हालै सार्वजनिक ट्रेलरले समाजमा पैसाप्रतिको गिद्धे दृष्टि र त्यसकै परिणामस्वरूप पात्रले भोग्नुपर्ने संघर्षलाई झल्काएको छ ।


