धरान । नेपाल तरुण दल धरानले धरान उप–महानगरपालिका वडा नम्बर १४ अन्तर्गत विजयपुर दन्तकाली स्कुलदेखि पिण्डेश्वर मन्दिरसम्मको जीर्ण अवस्थामा रहेको बाटो मर्मत गरी पीसीसी ढलान कार्य गरेको छ ।
खाल्डाखुल्डीले गर्दा आवतजावतमा कठिनाइ हुँदै आएको उक्त बाटो अब स्तरोन्नति भएपछि श्रद्धालु तथा पर्यटकलाई सहज हुने भएको छ ।
कार्यक्रममा १४ नम्बर वडाका स्थानीय आमाबाबु, दाजुभाइ, दिदीबहिनी, वडा कार्यालय, नेपाली कांग्रेसका कार्यकर्तासहितको सक्रिय सहभागिता रहेको थियो ।
धरान नेपाली कांग्रेस तरुण दलका नगर अध्यक्ष तथा वडा सदस्य रामकुमार तामाङले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सो बाटोको स्तरोन्नतिमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जनसहभागिता र सहकार्यबाट हुने यस्ता कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।


