इटहरी । धरान–१५ स्थित हिबिस्कस इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक उपप्राचार्य बिजय सिं थेबे ‘सार्क डाइनामिक युथ प्रिन्सिपल अवार्ड–२०२५’ बाट सम्मानित हुनुभएको छ । शिक्षालय राष्ट्रिय मासिकको आयोजनामा शुक्रबार काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा सम्पन्न सार्क एजुकेशन कन्क्लेभ तथा अवार्ड समारोहमा थेबेलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले खदा र सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । नेपाल, भारत र बंगलादेशका शैक्षिक संस्था तथा विज्ञहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षामा नवीनता र गुणस्तरीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षाविद् प्रा. डा. विद्यनाथ कोइराला, गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन, बुढानिलकण्ठ नगर प्रमुख मिठाराम केसी लगायतको विशेष उपस्थिति रहेको थियो। थेबेले यसअघि पनि अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसक्नुभएको छ । ब्रिटिस काउन्सिल आईएसए अवार्ड (२०१७ देखि २०२०), बेस्ट ग्लोबल प्रिन्सिपल अवार्ड (२०२२) र डा. ए.पी.जे. अब्दुल कलाम इनोभेटिभ प्रिन्सिपल अवार्ड (२०२३) बाट उहाँ सम्मानित भैसक्नुभएको छ । यो अवार्डले दक्षिण एशियाली क्षेत्रमा शिक्षाको नवीन र समावेशी दृष्टिकोणलाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ, जसमा थेबेले देखाएको नेतृत्व र योगदानको उच्च मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ।


