इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बिहीबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गर्नुभएको छ । नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं पुग्नुभएको हो ।
मन्त्री भण्डारीको सचिवालय सहितको टोलीले कार्यालयका विभिन्न शाखाहरू अवलोकन गर्दै प्रमुख तथा कर्मचारीहरूसँग छलफल गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले नागरिकलाई दैनिक रूपमा पर्न आएको समस्या सम्बोधन गर्न निर्देशन दिनुभयो। कार्यालय परिसरमा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री भण्डारीले सुझाव पनि संकलन गर्नुभयो ।
सेवाग्राहीहरूले लामो लाइन, ढिलो सेवा, घुस प्रथा र जानकारीको अभाव जस्ता गुनासा राखेका थिए । ती गुनासो गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै मन्त्रीले दोषी भेटिए कारबाही गर्ने बताउनुभयो।
यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख सतीश सत्यालले मन्त्रीलाई हालको अवस्था, कार्यप्रणाली, प्रविधि प्रयोग, जनशक्ति अभाव र भौतिक पूर्वाधारका कमीबारे जानकारी गराउनुभएको थियो । अनुगमनकै क्रममा पुराना फाइल व्यवस्थापन, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण, नवीकरण तथा सवारी दर्ता प्रणालीमा देखिएका ढिलाइबारे पनि समीक्षा भएको थियो।
यसअघि पनि मन्त्री भण्डारीले प्रदेशका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गर्दै आउनुभएको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि मन्त्रालयले नियमित अनुगमनलाई प्राथमिकतामा राखेको बताइएको छ ।


