इटहरी । यही भदौ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को प्रचार–प्रसारलाई तीव्रता दिँदै निर्माण टिम मोफसल यात्रामा निस्किएको छ । प्रचार अभियानको सुरुवात कोशी प्रदेशको इटहरीबाट गरिएको हो । सोमबार ईलाइट सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कलाकार कामेश्वर चौरसिया, किरण श्रेष्ठ र मिडिया को–अर्डिनेटर पवन भट्टराईको उपस्थिति थियो । पत्रकार सम्मेलनमा इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका सञ्चारकर्मी सहभागी भएका थिए । कार्यक्रममा अभिनेता चौरसियाले दर्शकको माया र समर्थनकै कारण आफू आज मुख्य भूमिकामा रहेको भन्दै अझै साथ आवश्यक रहेको बताउनुभयो । उहाँले फिल्म मधेसको कथामा आधारित सस्पेन्स क्राइम थ्रिलर भएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । हालै ट्रेलर रिलिज कार्यक्रमका क्रममा आफूलाई गरिएको “नचलेका कलाकार” भन्ने प्रश्न विवादमा पनि उहाँले प्रतिक्रिया दिनुभयो । त्यसैगरी अभिनेता श्रेष्ठले ट्रेलरले फिल्मबारे पर्याप्त संकेत दिएको भन्दै, अझ धेरै कुरा खुलाउँदा सस्पेन्स बिग्रन सक्ने बताउनुभयो । उहाँले दर्शकलाई भदौ २७ गते अभिमन्यु हेरेर वास्तविक कथा र चक्रव्यूहको अनुभव लिन आग्रह गर्नुभयो । फिल्म टिमले भदौ १७ गते जनकपुर, १८ गते वीरगञ्ज र हेटौंडा, १९ गते चितवन हुँदै काठमाडौंमा प्रचार–प्रसार गर्ने योजना बनाएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा सुशान्त गौतमले निर्देशन गरेको यो फिल्म पैसाको प्रलोभन, अपहरण र संघर्षलाई मुख्य कथावस्तु बनाएर तयार गरिएको हो । ट्रेलरमा प्रेमको नाटकमार्फत अपहरण र फिरौती माग्ने घटनालाई देखाइएको छ, जसले समाजमा पैसा प्रतिको गिद्धे दृष्टि र त्यसका परिणाम स्वरूप पात्रले भोग्नुपर्ने संघर्षलाई झल्काएको छ ।