इटहरी । नेपाली फिल्म ‘माइतीघर’ रिलिज मितिभन्दा अघिदेखि नै दर्शकमाझ चर्चामा आएको छ । आउँदो असोज १३ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने यो फिल्मसँगै सुरु भएको नृत्य प्रतियोगिताले अहिले ठूलो उत्साह सिर्जना गरेको छ ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दर्शकको अप्रत्याशित सहभागीता देखिएको छ । निर्माता रोहित अधिकारीका अनुसार सुरुवातको २४ घन्टाभित्रै हजारौँ भिडियो निर्माण पक्षसम्म पुगेका छन् भने ओएसआर डिजिटलका सामाजिक सञ्जालमार्फत १५ देखि २० लाखसम्म भ्यूज आइसकेका छन् ।

निर्माता अधिकारीले दर्शकको उत्साहले टिमलाई थप ऊर्जा दिएको बताए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सुरुवाती घोषणा अनुसार पुरस्कार केवल प्रथम हुनेलाई मात्र थियो, तर निर्माण पक्षले दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार दिने निर्णय गरेको छ । साथै सहभागी हुने कतिपयलाई समेत खाली हात नपार्ने प्रतिबद्धता गरिएको छ ।

सञ्जिवनीको स्वरमा सार्वजनिक गीतमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । उक्त गीत कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा तयार गरिएको हो, जसलाई दर्शकले निकै रुचाएका छन् ।

फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय रहेको छ । चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवादमा बनेको फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन् ।