इटहरी । मोरङको ग्रामथान गाउँपालिका–१ का झपटसिंह थारू अहिले ७५ वर्षको बुढ्यौली उमेरको दिनचर्यामा हुनुहुन्छ । करिब ५७ वर्षअघि उहाँको विवाह हुँदा थारू समुदायमा दाइजोको कुनै चलन थिएन । थारू संस्कार अनुसार भएको उहाँको विवाहमा ससुरालीले उहाँलाई कन्यादान गर्दा एउटा थाल र लोटा दिएको अहिले पनि झलझली याद छ तर यो पाँच दशकको अवधिमा थारू समुदायको विवाह संस्कारमा ठुलो परिवर्तन आइसकेको झपटसिंह थारू बताउनुहुन्छ । थारू समुदायकी अभियन्ता तथा अधिवक्ता निरा भगतको पछिल्लो अनुभव पनि झपट सिंहकै जस्तो छ । पछिल्ला दिनमा थारू समुदायमा बढ्दो दाइजो प्रथाले यो समुदायका अगुवालाई निकै चिन्तित बनाएको छ । अन्य समुदायको देखासिखीका कारण दाइजोको बढ्दो होडबाजीले सामान्य आर्थिक अवस्था भएका थारू समस्यामा पर्न थालेको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण चौधरी बताउनुहुन्छ ।

दाइजोकै कारण विवाह नहुने र केटीको उमेर ढल्किँदै जाँदा अझ बढी दाइजो खोज्ने नयाँ चलन यो समुदायलाई गाँज्दै लगेको ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवती धामी बताउनुहुन्छ । थारू समुदायको परम्परागत संस्कारलाई बाहिरी संस्कृतिले बिगारेको उहाँको भनाइ छ । थारू समुदायमा केटा पक्षले दाइजो लिनेभन्दा पनि केटी पक्षलाई सहयोग गरेर विवाह गर्ने पुरानो चलन रहेको अधिवक्ता तथा अभियन्ता निरा भगत बताउनुहुन्छ तर अहिले मोटरसाइकल नदिई छोरीको विवाह नै हुन छाडेको छ । दाइजो प्रथा विहारबाट भित्रिएको थारू समुदायका अगुवाको बुझाइ छ । दाइजो नदिएकै कारण कतिपय थारू महिलाको विवाहपछि सम्बन्धविच्छेद नै हुने घटना पनि यो समुदायमा बढ्दै गएका छन् ।

विवाहपछि पनि केटा पक्षले नवदुलहीका परिवारसँग जग्गा, पैसा र विभिन्न भौतिक सामग्री माग्न लगाएर मानसिक यातना दिने गरेको डङ्ग्राहका स्थानीय शिक्षक भरतलाल भगत बताउनुहुन्छ । बढ्दो दाइजो प्रथाका कारण थारू समुदायमा छोरी पढाउने कुरा पनि समस्या बन्दै गएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर सहायक क्याम्पस प्रमुख तथा संस्कृति विषयका सहप्रध्यापक डा। सुशील अधिकारी यो समुदायमा दाइजो लिनेदिने चलन नै नभएको बताउनुहुन्छ । थारू संस्कृतिमै विद्यावारिधि गर्नुभएका डा। अधिकारीका अनुसार मोरङ–सुनसरीमा विभिन्न आठ प्रकारका थारू बसोबास गर्दै आएका छन् । जसमा खडेर, हेलजेलिया, रौतार, भडभमिया, सप्तरिया, राजघरैया र मोरङ्गीया रहेका छन् । यी दुई जिल्लामा मोरङ्गीया थारूको सङ्ख्या उल्लेखनीय रहेको छ तर यी कुनै पनि थारू जातिमा दाइजो लिने कुरा पुरानो संस्कार नभएको डा। अधिकारी बताउनुहुन्छ ।