इटहरी । सुन्तलाको फल खस्ने रोग देखिएपछि भोजपुरका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तला खेतीमा लागेका किसान समस्यामा परेका हुन् । सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३, गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिनुभयो । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उहाँको भनाइ छ । गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उहाँले जानकारी दिनुभयो । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उहाँको भनाइ छ । सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताउनुभयो ।
फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उहाँको भनाइ छ । गत वर्ष १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उहाँको भनाइ छ । भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताउनुभयो । राज्यले रोगको निराकरणका लागि ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रायः यहाँका सबै किसानको सुन्तला बगैँचामा फल खस्ने रोग देखिएको उहाँले जानकारी दिनुभयो ।


