इटहरी । इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा प्रहरीले विशेष चेकजाँच ‘डग स्नाइपिङ’ अभियान सञ्चालन गरी लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव निरीक्षक रेवतीरमण घिमिरेको कमाण्डमा खटिएको नौ जनाको टोलीले धरान लाइन क्षेत्रमा चेकजाँच सुरु गरेको थियो। जसमा पक्राउ परेकामध्ये धरान–४ का २० वर्षीय अनिल राई, धरान बस्ने ३५ वर्षीय प्रेमबहादुर राई, झापा कमल गाउँपालिका–३ का ३३ वर्षीय सन्तोष बस्नेत र मोरङ सुन्दरहरैचा–२ का २२ वर्षीय प्रतीक भण्डारी रहेका छन्। उनीहरूको साथबाट ट्रमाडोल ८५ स्ट्रिप ९८५० क्याप्सुल० र स्पास ८५ स्ट्रिप ९८५ क्याप्सुल० बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषध र पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ।