इटहरी  । उदयपुरको त्रियुगा नगरपालिकाको डम्पिङ डाईटमा स्थानीबासीको अबरोधपछि रोकिएको फोहोर १५ दिन पछि उठ्न थालेको छ । गाईघाट बजारमा १५ दिनदेखि फोहोर नउठेर दुर्गन्धित बनेको फोहोर उठ्न धमाधम उठाउन थालिएको हो । त्रियुगा नगरपालिकाका– ११ गाईघाट बजारका वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख सुमन्त कोईरालाको बिशेष पहलमा फोहोर उठन थालिएका हुन । कोईरालाले जिम्मेवारी लिएसँगै बजारको फोहर बिसर्जनको समस्या समाधान भएको हो । गाईघाट बजार क्षेत्रमा जम्मा भएको फोहोर त्रियुगा नगरपालिका–१२ को बिसनपुर ५ को दमौती, कहिले ६ को चुरे क्षेत्रमा कहिले चप्पन क्षेत्रमा बिर्सजन गर्दै आएको थियो । तर, स्थानीयले त्यस क्षेत्रमा अबरोध लगाएपछि उठ्न नसकेको फोहोर बुधबारदेखि पुनः उठाउन थालिएको हो । त्रियुगा नगरपालिका–११ मा पर्ने चप्पन सामुदायिक वन उपभोक्ता समूहको पिकनिक स्पोर्टको बरुवा खोलामा निर्माण गरिएको बाँधमा गाईघाटको फोहोर बिसर्जन गर्न थालिएका हुन । त्रियुगा नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइरालाले बरुवा खोलामा निर्माण भएको बाँधमा फोहोर बिर्सजन गर्न थालेपछि फोहोर उठ्न थालेको जानकारी दिए । वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कोईरालाले १५ दिन देखि समस्या रुपमा रहेको गाईघाट बजार क्षेत्रको फोहोर ब्यवस्थापन गर्न वडाका ४० वटा टोल बिकास संस्थाका अध्यक्षसँग बैठक राखि निर्णय गरेर फोहोर ब्यवस्थापन गरिएको जानकारी दिए । त्रियुगा नगरपालिकाको फोहोर बिसर्जन गर्ने ठाउँ छैन । २०५३ सालमा स्थापना भएको नगरपालिका भए पनि फोहोर बिसर्जन गर्ने स्थायी ठाउँ निर्माण नहुँदा समय समयमा बजार क्षेत्र फोहोर नउठदाँ बजार दुर्गन्धित हुने गरेको छ । गाईघाट बजार क्षेत्रमा दैनिक ५ ट्रक फोहोर उत्पादन हुँदै आएको वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कोइरालाको भनाइ छ । त्रियुगा नगरपालिकाको वडा नम्बर ११ बाट सबै भन्दा बढि फोहर उत्पादन हुने गर्दछ ।

बजारमा थुप्रिएको फोहोर १५ दिन देखि सडकमै थुप्रिदा बजार दुर्गन्धित भएको थियो । त्रियुगा नगरपालिकाले फोहार फाल्दै आएको डम्पिङ साईटमा स्थानीयले अबरोध गरेपछि बजारको फोहोर उठन सकेको थिएनन । साविकको डम्पिङसाईटमा स्थानीयले फाल्न अबरोधका कारण फोहोर थुप्रिदै गएका थिए । फोहोरले बजारको स्वरुप बिगार्नुका साथै दुर्गन्धले पैदल यात्रीलाई त सास्ती दिएकै छ, घर अगाडि फोहोर थुप्रिदा बजारबासीलाई थप समस्या भएकाले सर्बपक्षिय बैठक गरि फोहोर उठाउन थालिएको वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कोईरालाको भनाई रहेको छ । फोहोर व्यवस्थापनको स्थायी समाधान खोज्ने तर्फ नगरपालिकाले चासो नदिएको स्थानीयबासीको आरोप छ । साविक ठाउँमा स्थानीयले विरोध गरेको, चुरेमा फाल्न थाले पनि कानुनी प्रक्रिया पुरा नभई सकेको र नयाँ ठाउँको यकिन भई नसकेकाले समस्या भएको बताए ।

स्थानीयले फोहोर बोकेर गएका ट्याक्टर र टिफर माथि आक्रमण गर्न खोजेपछि नगरपालिका पछि हट्दै बैकल्पिक साईटको खोजीमा लागेको हो । साविकको साईट आसपासका स्थानीयले दुर्गन्ध अत्याधिक फैलिएको र हैजा उत्पन्न हुने खतरा भएकाले कुनै हालतमा फोहोर फाल्न नदिने अडान लिएका थिए । स्थायी साईटको अभावमा नगरपालिकाले कहिले गाईघाट–साउने खण्डको चप्पन जङ्गल खाल्डोतिर केही फोहोर फालि हिडेको छ भने केही त्रियुगा बगरतिर फाल्दै आए पनि फोहोर फाल्ने बैकल्पिक साईट पाउन सकेको छैन । त्रियुगा नगरपालिका– १२ बिसनपुरमा बिगत ७ वर्षदेखि फोहोर ब्यवस्थापन गर्दै आएको ठाउँमा स्थानीयबासीले अबरोध गरेपछि नगरपालिका समस्यामा परेको हो । बिसनपुरमा स्थानीयबासीले फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाले वडा नं। १४ र १५ बीचमा पर्ने साउने जङ्गल क्षेत्र तथा ४, ५ र ६ नं। वडाका विभिन्न खाली र बगर क्षेत्रहरु बिकल्पको रुपमा फोहोर बिर्सजन गर्दै आएकोमा त्यहाँ पनि स्थानीयबासीले अबरोध गरेपछि त्रियुगा नगरपालिका– ५ दमौटीमा लगेर फोहोर फाल्दै आएको थियो । तर त्यहाँ पनि स्थानीयबासीले अबरोध गरेपछि अहिले फोहोर ब्यवस्थापनमा समस्या भएको हो ।

त्रियुगा नगरपालिकाले स्थायी डम्पिङसाईटको टुङ्गो लगाउन विभिन्न ठाउँहरुको अध्ययन गरेको थियो । जस मध्ये वडा नं। १ चौदण्डीगढी नगरपालिकाको सीमा नजिकै फुलजोर, वडा नं। १४ र १५ बीचमा पर्ने साउने जङ्गलक्षेत्र तथा ४, ५ र ६ नं। वडाका विभिन्न खाली र बगरक्षेत्रहरु बिकल्पको रुपमा खोजि भई रहेको छ । १२ नं। वडाको त्रिबेणीस्थित नदी उकासको जमिनमा डम्पिङ गरिदै आएको फोहोर स्थानीयले अवरोध गर्दा बजारमा फोहोर थुप्रिन थालेको हो । तत्काललाई बरुवा खोला बाँधमा फोहोर बिर्सजन गर्न सहमति भएकाले केही वर्षलाई ढुक्क भएको वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख कोईरालाको भनाई रहेको छ । बरुवाको ढिम्की मन्दिर नजिक देखि बरुवा खोला पुल सम्म करिब ५ मिटर लामो बाँधमा दैनिक जसो फोहोर बिर्सजन गर्ने र फोहोर राम्रोसँग पुर्ने सहमति भएको उनले बताए । यसरी खाल्डो खन्दै फोहोर पुर्दै गर्दा त्यहाँ बाँध पनि निर्माण हुने भएकाले गाईघाट बजारलाई समेत बाढीबाट सुरक्षा दिन सकिने बताए ।