काठमाडौं : सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को अघिल्लो निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यस्तो निर्णय गरेको हो।
स्रोतका अनुसार मन्त्रालयमा बसेको बैठकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। आज (बिहीबार) देखि नै ती सञ्जाल बन्द गर्ने प्रक्रिया अघि बढाइनेछ।
मन्त्रालयले भने, दर्ता प्रक्रिया सुरु गर्ने सामाजिक सञ्जाललाई क्रमशः खोल्ने निर्णय गरिएको छ ।
सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले बुधबार सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत अनियमित डिजिटल सामग्रीमाथि नियन्त्रण गर्न परमादेश जारी गरेको थियो।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नेपालमा विदेशी प्रसारण संस्थाले प्रसारण गर्न अनुमति लिनुपर्ने र त्यसका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो।
प्रसारण नियमावलीअनुसार कुनै विदेशी संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रशारण भएको कार्यक्रम नेपालमा डाउनलिङ्क गरी प्रसारण गर्न चाहने भए अनिवार्य रूपमा सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल तथा विज्ञापनसहितका सामग्रीमाथि रोक लगाउन आदेश दिएको हो।


