इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ, पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रभावकारी बनेको हो । यो कार्यक्रम  अन्तर्गत गाउँपालिकाले यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एक एक ओटा भाले र दुई पोथी कुखुरा वितरण गर्दै आएको छ । वितरण गरिएको कुखुरालाई पालेर उनीहरुले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग  गर्न सक्ने गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । यो कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक कुखुरा वितरण गरिेने गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । यसरी वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने उहाँको भनाइ छ । यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०र८१ देखि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नियमित रूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दैै आएको छ ।