इटहरी । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका मानेभञ्ज्याङस्थित बाल कल्याण गृह र तुम्लिङटार मनकामना मन्दिर परिसरको वृद्धाश्रममा विशेष च्यारिटी भ्रमण गरिएको छ । दुईदिने कार्यक्रममा अनाथालयका बालबालिकालाई स्कुल ब्याग, स्वेटर, टिसर्ट, कापीकलम तथा खाजा सामग्री वितरण गरिएको थियो भने वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल, खाजा, लुगाफाटा, खाद्यान्न र नगद सहयोग प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ रहनुभएको थियो । सो अवसरमा सामाजिक कार्यकर्ता सुनिता श्रेष्ठले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो। साथै सेवक अभियानका अभियन्ता, सहयोगी दाताहरु र भ्रमण टोलीलाई स्थानीय समाजसेवी सुनिल श्रेष्ठले स्वागत गर्नुभएको थियो। यस च्यारिटी अभियानमा वरुण क्याम्पस खाँदबारी, मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुम्लिङटारका शिक्षक, विद्यार्थी तथा स्थानीय समाजसेवीको समेत सक्रिय सहभागिता रहेको थियो। दुईदिने भ्रमण सफल पार्न सहयोग गर्ने सबैलाई आयोजक पक्षले आभार प्रकट गरेको छ ।


